चौतारामा गथमंग : उपत्यकाबाट विविध कारणले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा आएर बसोबास गर्ने नेवार समुदायले यो वर्ष पनि यो पर्व मनाएको छ ।
सदियौं कालदेखि नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ आज गठामुंगः (घण्टाकर्ण) पर्व मनाएका हुन् ।
चन्द्रमास अनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन काठमाडौँ उपत्यका र देश विदेशमा रहेका नेवार समुदायले यस पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा गर्ने पनि गरिन्छ ।
परापूर्व कालमा नेपालमा गठामङ्गल नाम गरेको एउटा यस्तो राक्षस रहन्थ्यो जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो । सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो । सत्य वचन सुन्नुपर्ला भनेर सँधैं चिन्तित रहन्थ्यो ।
गठामुङ्गल राक्षसले आफ्नो कानमा सोह्रसत्र धार्नीको घण्टा झुण्ड्यायो अनि घण्टाको आवाजले सत्य वचन र राम्रा कुरा सुन्नु नपर्ने भयो भनी ढुक्क भयो । यसपछि गठामङ्गल राक्षस घण्टाकर्ण नामले चिनिन थाल्यो । यो राक्षसले सुनलाई भन्दा फलामलाई धनीलाई भन्दा मगन्तेलाई मन पराउँथ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात ( पैसा) उठाउने यसको नियमित दिनचर्या हुन्थ्यो ।
पैसा नदिने मानिसलाई मारेर मासु खान्थ्यो, महिलालाई बलात्कार गथ्र्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो । घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै मानिस आतङ्कित थिए । एकदिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो । घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्यो । भ्यागुतो पनि घण्टाकर्णको आतङ्कबाट पीडित बनेको थियो । भ्यागुतोले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो । अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो । उसले आफ्नो विशालकाय शरीर बाहिर निकाल्न सेकेन । यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गा, मुढा र लाठाले हिर्काएर मारिदिए । यसरी नरभक्षी राक्षसबाट मानव जातिले मुक्ति पाए ।
मानवता विरोधी घण्टाकर्ण राक्षस मारिएको दिन श्रावण कृष्ण चतुर्दशी परेकाले यस दिनलाई घण्टाकर्ण चतुर्दशी पनि भन्न थालियो । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसई जलाइन्छ ।
प्रतिक्रिया दिनुहोस्