२०८२ कार्तिक २

चौसाँगढी नगरपालिकाको प्रारम्भिक वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाइ : नदीजन्य पदार्थ उत्खन गर्न अध्ययन आवश्यक 

बैशाख १० ,  सिन्धुपाल्चोक ।  प्रारम्भिक वातावरणीय परीक्षणको सन्दर्भमा  चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । आइतबार ११ नम्बर वडा भिमटारमा नदीजन्य पदार्थ व्यवस्थापन गर्ने उदेश्यले यो कार्यक्रम गरिएको हो ।

चौतारा साँगाचोक गढी नगरपालिका वडा नं १४ र ११ भएर बग्ने इन्द्रावती नदिको विभिन्न वगर क्षेत्रहरूबाट दिगो रुपमा ढुङ्गा, गिटी, वालुवा संकलन तथा उत्खनन गर्नु अगाडीनै सार्वजनिक सुनुवाई गरिएको हो ।

खोला, बगर तथा घाटबाट दिगो र वातावरण मैत्री रुपले ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्दा अध्ययन जरुरी रहेको चौतारा साँगाचोक गढीका मेयर कृष्ण प्रसाद सापकोटा देशबन्दुले बताए ।

सो कार्यक्रममा भिमटारका स्थानिय सहभागी थिए । उनीहरुले आफ्नो समुदायले भोगीरहेको समस्या, उत्खननले पारेको असरबारे विभिन्न सवाल उठान गरेका थिए ।

तर नियम विपरीत नदि उत्खननले वातावरणीय र भौतिक क्षती भोग्नुपरेको भन्दै सार्वजनिक सुनुवाईको माईनटमा उपस्थिती जनाउन भने अस्वीकार गरेका छन ।

इन्द्रावती खोला, बगर, घाटबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन गर्ने मापदण्ड विपरीत  क्रसर उद्योगहरुले काम गरेको यहाका स्थानीयले भनेका छन ।

यस्तै ११ नम्वर वडाका वडा सदस्य समेत रहेका नेत्र विक्रम माझीले दहत्तर बहत्तर मार्फत चौतारा साँगाचोकगढी नगरपालिकाले २५ करोड सम्मको टेण्डर लगाएको बताए ।

तर स्थानीयले वायु प्रदुषण, ध्वनि प्रदुषण, छारो धुलो, खेत कटान देखि सिंचाई, खानेपानीको अभाव, स्वास्थ्य सेवा सुविधा , गुणस्तरीय शिक्षा तथा रोजगारबाट बन्चित जस्ता समस्या भोग्नुपरेको माझीले बताए  ।

उनले भने नदीजन्य पदार्थको अवैध उत्खननले स्थानीयको जग्गा जमिनको संरक्षण भएन ।

मापदण्ड अनुसार घाट वरीपरी उत्खनन गर्न पाईदैन तर इन्द्रावती खोलामा भने उत्खनन् भइरहेको  बारे प्रशासनलाई जानकारी गराउदा सुनुवाइ नभएको  स्थानीयले बताएका छन् ।

कार्यक्रममा सहभागीले उठाएका जिज्ञासा तथा समस्याहरुको सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले दहत्तर बहत्तरको ठेक्का भएर वजेट आएपछि समुदाय लक्षित कार्यक्रममा जोड दिइने प्रतिवद्धता गरे।

मेयर सापकोटाले भने स्थानीयको सामाजिक, आर्थिक र साँस्कृतिक पक्षको प्रवर्धन तथा संरक्षणको लागी नगरपालिका सकारात्मक रहेको छ ।

साथै भौतिक पूर्वाधार संरक्षणका लागी  प्रदेश र संघ सरकार समक्ष समेत पहल गर्ने मेयर सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्