२०८१ श्रावण १२
                           

न बेठी, न असारे गीत, हरायो मौलिक संस्कृति

एकातिर खेत बाँझो हुन थाल्यो । अर्कोतिर लाठेहरू खेतीपाती गर्न त के सबैले गाउँ नै छाड्न थाले त्यही भएर पनि रोपाइँको रौनकता हराउँदै गएको किसान दाहालको अनुभव छ । उहाँ भन्नुहुन्छ उ बेलाको रोपाइँ पो रोपाइँ, अहिलेको रोपाइँ त खै के रोपाइँ ?

हुन पनि अहिले त गाउँघरमा अधिकांश खेतबारी बाँझै देखिन थालेका छन् । युवाहरूको आकर्षण खेतीपातीमा भन्दा पनि जागिर धन्दामा बढ्दो छ । अझ अधिकांश युवाहरू वैदेशिक रोजगारको शिलशिलामा बिदेसिएका छन् । प्राय गाउँमा अधिकांश महिला र बुडाबुडीहरू मात्र देखिन्छन् । गाउँमा गोरुको साटो ट्याक्टरको प्रयोग बढ्दो छ । ट्याक्टरको प्रयोगले रोपाइँमा सहजता त ल्याएको छ तर हलीले गोरु जोत्दै हो हो माले हो, फर्की माले हो भनेर बोलेको त्यो मिठास आवाजलाई ट्याक्टरको कर्कश ध्वनिले विस्थापित गरेको छ ।

त्यसले पनि रोपार्ईको रौनकतामा कमी ल्याएको ६७ बर्षीय अर्का किसान नन्दप्रसाद सापकोटा बताउनुहुन्छ । हिजो जस्तै पर्म लगाउने चलन पनि अहिले गाउँघरमा छैन । रोपाई गर्न किसानहरू आफ्ना घरका केही सदस्य मात्र लिएर खेतमा जान्छन् अनि रोपाई सकाएर फर्कन्छन् किसान सापकोटाले थप्नुभयो ।

बेठी लगाउने चलन त झनै हराएर गएको चौतारा साँगाचोकगढी नगरपालिका वडा न ७ का किसान भीमसेन अर्यालको भनाई छ । बेठी लगाउँदा सिङ्गो गाउँमा नै दसै आएको जस्तो झल्को हुन्थ्यो । नजिकै बाजा बजिरहेको हुन्थ्यो । नाच्नेहरू नाची रहेका हुन्थे, गाउनेहरू गाएर बसेका हुन्थे, अनि रोप्नेहरू रोपिरहेका हुन्थे । दोबरे र खाजा ल्याएपछि हामी अझ हौसिन्थ्यौ, साँची रोपाइँ त हामी किसानहरूका लागि एक प्रकारको पर्व जस्तै लाग्थ्यो ।

पछिल्लो पुस्तालाई असारे भाका नै थाहा नभएको अर्याल बताउनुहुन्छ । बेठी संस्कृति त झन थाहा हुने कुरै भएन अर्यालले भन्नुभयो ।

हुन पनि कतिपय पछिल्लो पटकका पुस्ताहरू रोपाई गर्न खेतभित्र छिरे पनि उनीहरूको साथमा रहेको मोबाइलबाट गीत सुन्दै मेलो सार्दै गर्ने परम्परा बढ्दै गएको छ । बढ्दो आधुनिकताले नेपाली अन्य मौलिक संस्कृतिमा असर परे जस्तै असारे भाका र बेठी लगाउने संस्कृतिमा पनि प्रभाव परेको बुढापाकाहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्