दिपक खत्री ÷ असोज ९ — चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको सुभारम्भ गरेको छ । नगरको वडा नम्बर १३ नर्सिङडाडामा एक कार्यक्रम बिच मेयर कृष्ण प्रसाद सापकोटाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडाका हरेक टोलमा पुगेर ज्येष्ठ नागरिक स्वास्थ्य क्लिनिक संचालन गरिने मेयर सापकोटाले बताउनुभयो । ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै २५ लाख रकम विनियोजन गरेको छ । आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रम समेत ल्याउने मेयर सापकोटाले बताउनुभयो ।

नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरीका अनुसार पहिलो चरणमा प्रत्यक वडामा शिविर मार्फत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान समेत हुने छ । आवश्यकता अनुसार उनीहरूलाई निःशुल्क औषधिसमेत बाँडिने र अन्यत्र रेफर गर्ने समेत कार्यक्रम रहेको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मानस्वरूप समुदायमै गएर बालबालिकाको खोप क्लिनिक जस्तै नियमित रुपमा जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाको योजना रहेको जनस्वास्थ्य अधिकृत नेपालको भनाई छ । पालीकाभित्र हरेक वडामा रहेका हेल्थ पोस्टमा कार्यरत हेल्थ असिस्टेन्ट, सिनियर अहेब, अहेब र अनमी मध्येबाट नियमित औपचारीक तालिका बनाएर सबै वडाका हरेक टोलमा ज्येष्ठ नागरिकको परीक्षण गर्न पुग्नेछन् । स्वास्थ्य संस्था टाढा हुँदा ज्येष्ठ नागरिक स्वास्थ्य उपचारबाट वञ्चित भएपछि नगरपालिकाले समुदायमै क्लिनिक संचालन गर्ने कार्यक्रम ल्याएको हो ।

अहिले एकल भएका र घरमा बुढाबुढी मात्र भएका ज्येष्ठ नागरिकमा धेरै स्वास्थ्य समस्या देखिएको छ । आइतबारको शिविरमा एकै व्यक्तिमा ३÷४ वटा दीर्घ रोगसमेत देखिएको भन्दै केहीलाई बाहिरको अस्पतालमा जान रेफर समेत गरीएको छ । स्वास्थ्यकर्मीहरू औषधोपचार नपाएका अशक्त, अपांगता भएका ज्येष्ठ नागरिकको टोलमै पुगेर उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको स्थानिय कालिका दुलालले बताउनुभयो । आफन्तको बेवास्ताका कारण ज्येष्ठ नागरिक एक्लिँदा उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन् ।
मेयर कृष्ण प्रसाद सापकोटाले आफ्नो चुनावी घोषणापत्रमा समेत ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई समेट्नुभएको थियो । यो कार्यक्रमले जेष्ठ नागरिकको समस्या एकिन हुने र आगामी वर्ष प्रभावकारी कार्यक्रम बनाउन थप सहयोग पुग्ने उपप्रमुख सिता थापाले बताउनुभयो । अहिले शिविरमा कारणबस आउन नसकेका जेष्ठ नागरिकको तथ्याङ्क पंजीकरण शाखाबाट लिएर घरघरमा पुग्ने र उनिहरुको समस्या पहिचान गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण सुभारम्भ कार्यक्रम १३ नम्बर वडाका अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्