२०८१ बैशाख ७

समाज वा घरमा यौन दुर्व्यवहारमा किशोरी

डा. अरुणा उप्रेती
भदौ १९, डा.राजेन्द्र बरालले धेरै वर्ष पहिले एउटा हृदयविदारक घटना सुनाउनुभएको थियो । ‘आजभन्दा १० वर्षअघि ८ कक्षामा पढ्ने किशोरी पनौती– (परिवर्तित नाम) मकहाँ आइन् । उनलाई के भएको हो भनेर सोधें, केही पनि बोलिनन् । झण्डै १५ मिनेटसम्म पनि केही नबोली बसिरहिन् । अनि मैले एकजना नर्सलाई बोलाएँ र उनलाई के भएको छ भनेर सोध्न भनें ।’
डा. बरालका अनुसार, पनौती–१ बल्ल बोलिन् । उनले तल दुख्छ भनिन् । यस्ती किशोरीलाई के भएको हुनसक्छ भनेर म छक्क परें । र नर्सको उपस्थितिमा उनलाई जाँच्ने कोसिस गरें । म स्तब्ध भएँ, उनलाई त पाठेघरको मुखको क्यान्सर भएको रहेछ ।
उनलाई कहिलेदेखि यौन सम्पर्क भयो भनेर सोध्दा उनले भनेको कुरा पत्याउनै नसकिने खालको थियो । बुवाले उनी ३ कक्षामा पढ्दादेखि नै बलात्कार गर्दै आएका थिए रे ! डरले आमालाई पनि भनेकी थिइनन् रे ! तर, उनी ७ कक्षामा पुगेपछि उनलाई समस्या भएर मात्रै आमालाई भनिन् ।
अनि आमाले तत्काल बुवासँग पारपाचुके गरिन् । बाबु चाहिं भागेर अमेरिका पुगे । भाग्यले ती किशोरीको समयमै उपचार भयो र अहिले उनी उच्च शिक्षा हासिल गर्दैछिन् ।“ डा. राजेन्द्र बरालले भनेको यो स्थिति नेपाली समाजमा छ ।
अहिले पनि हामी कतिपय स्कुलमा प्रधानाध्यापक वा अध्यापकले किशोरी वा बालबालिकालाई घरमा पढ्न बोलाएर वा स्कूलमा बढी समय राखेर यौन दुर्व्यवहार गरेको, चुम्बन गरेको र बलात्कार गरेको घटनाका समाचार पढ्छौं ।
किशोरीहरूलाई चुम्बन गर्दा, उनको स्तन छुँदा वा नजिक राखेर म्वाइँ ख्वाएको घटनालाई ‘घरमा भन्यो भने पक्कै पनि अभिभावकहरूले मलाई नै गाली गर्छन्’ भनेर डरले ती किशोरीहरू डराएर बस्छन् र यसरी जीउ छुने प्रक्रियाबाट यो अपराध बलात्कारसम्म पुग्न सक्छ । यसरी दुर्व्यवहार भोगेका किशोरीको बानी व्यवहारमा परिवर्तन हुने हुनाले अभिभावक पनि सजग हुनुपर्छ ।
बालबालिकालाई आफूलाई कसैले दुर्व्यवहार गरिरहेको छ भन्ने पनि थाहा हुँदैन । चकलेट दिएर वा मिठो खानेकुरा दिएर ‘कसैलाई पनि नभन’ भनेपछि बालबालिका पनि चुप लाग्ने सम्भावना र त्यसपछि बलात्कार हुने स्थिति पनि आउँछ ।
किशोरीहरूलाई आफ्नै उमेरका किशोर दाजुभाइहरूले पनि माया गर्ने निहुँमा अँगालो मार्ने, हातमा म्वाइँ खाने, शरीरका अन्य भागमा चुम्बन गर्ने, यौनिक क्रियाकलापहरू गरेको प्रशस्त पाइन्छ । किशोरीहरूलाई पहिले नै यस बारेमा ज्ञान दिनुपर्छ । घरका बाबुआमा कसैले उनलाई ‘अभद्र व्यवहार गरेमा, शरीरको कुनै पनि भाग छोएमा, चुम्बन गरेमा वा बलात्कार गर्न कोसिस गरेमा तुरुन्त कसैलाई भनिहाल्नु’ भन्नुपर्छ ।
किशोरीहरूलाई सानैदेखि यस्तो कुराको ज्ञान दियो भने उनीहरूमा आफूलाई यस्तो अवस्था परेमा घरका सदस्यलाई भन्नुपर्छ र यसरी भन्दा उनलाई कसैले पनि गाली गर्ने छैनन् भन्ने आत्मविश्वास जागृत हुन्छ । यसले गर्दा उनीहरू यस्ता समस्याबाट जोगिन सक्छन् ।
बालबालिका चाहिं कतिपय अवस्थामा आफूलाई कसले के गरिरहेको हो भनेर बुझ्न नसक्ने भएकोले उनीहरूले सायद कसैले चिमोटेको, गालामा यौनको दृष्टिकोणले म्वाइँ ख्वाएको आदि कुरा भन्न सक्दैनन् । त्यसैले बालिकाहरूलाई चाहिं विशेष सुरक्षा दिनुपर्छ नै । यस्ता समस्याहरू शहरमा मात्र होइन गाउँघरमा पनि हुन सक्छन् । गाउँघरमा त प्रायः घरमा कोही न कोही मानिस भइरहन्छ बज्यै, फुपू वा छिमेकी महिलाहरूले यस्ता काम हुनबाट रोक्न सक्छन् ।
तर, घरका मुख्य व्यक्तिहरूले घर र बाहिर हुने यस्ता दुर्घटना रोक्न र किशोरीहरूलाई भयरहित वातावरणमा आफ्नो कुरा राख्न प्रेरणा दिन सक्छन् र दिनुपर्छ । ‘यो कुरा त हाम्रो समाज वा हाम्रो घरमा त हुनै सक्दैन, यो त अरूको समस्या हो’ भनेर कहिल्यै पनि सोच्नुहुन्न ।
‘घरमा काका, मामा, काकाका छोराहरू वा अन्य कुनै पुरुषहरू छन् भने बालिका र किशोरीलाई उनीहरूबाट हुनसक्ने यौन दुर्व्यवहारको बारेमा सचेत गराउनै पर्छ’ मानसिक रोग विशेषज्ञ डा.विश्ववन्धु शर्मा भन्नुहुन्छ, ‘स्कुलमा शिक्षकहरूले यसरी सचेत गराउन सक्छन् ।’
‘घरमा बुवा वा दाजुका साथीहरू वा काकाहरूबाट यौन दुर्व्यवहार हुँदा कति बालिका र किशोरीले डराएर आमा वा बज्यैलाई भन्दैनन् । किनकि प्रायः हाम्रो समाजमा घरका दिदीबहिनी वा भतिजीलाई यौन दुर्व्यवहार गर्दैनन्, उनीहरूको बीचमा पवित्र सम्बन्ध हुन्छ भन्ने आम बुझाइ छ’ डा. शर्मा भन्नुहुन्छ, ‘तर यस्ता समस्याहरू बारम्बार समाजमा देखिएका छन् र यस्ता कुरा समाजमा बेइज्जत हुन्छ भन्ने डरले कसैले बाहिर ल्याउन पनि चाहँदैन ।’

प्रतिक्रिया दिनुहोस्