असार १०, कार्यपालिका सदस्यहरु गाउँसभा बहिष्कार गरेका कारण बलेफीको गाउँपालिकाको ११औं गाउँसभा स्थगित भएको छ ।
उपाध्यक्षसहित नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँ सभा बहिष्कार गरेका थिए । आफ्ना मागहरु पूरा नगरेको भन्दै गाउँसभा बहिष्कार गर्नुपरेको वडा नं. २ का वडा अध्यक्ष छविलाल न्यौपाले बताउनुभयाृ । प्रत्येक वडामा १ करोड बजेट विनियोजन हुनुपर्ने, चार वडा भवन निर्माणका लागि १ करोड बजेट राखिनुपर्ने, पालिकालाई करमुक्त गर्नुपर्ने र कक्षा १२ सम्म निःशुल्क पठनपाठन हुनु पर्ने माग उनीहरुले राखेका थिए ।
‘उहाँहरुले पालिकाले विनियोजन नै गर्न नसक्ने बजेट माग गरी गाउँसभामा आउनु भएन’, पालिका अध्यक्ष गंगाबहादुर तामाङले भन्नुभयो– ‘तपाईहरु आफैं बजेट बाँडफाँड गर्नुस् भन्दा पनि मान्नु हुन्न, यो भनेको उहाँहरुले नियोजित रुपमै सभा स्थगित गराउने बुझिन्छ ।’ बहुमत कार्यपालिका सदस्यले सभा बहिष्कार गरेपछि असार १२ गते पुनः गाउँसभा डाकिएको छ ।
‘दलीय खिचातानी र हानाथापका कारण गाउँसभाको बैठक स्थगन भएको छ’, वडा नं. ७ का वडा सदस्य सुनील पौडेलले भन्नुभयो ‘गाउँसभा बैठकको स्थगनसँगै यसले सिङ्गो गाउँपालिकाको आगामी आर्थिक वर्षभरिको विकास निर्माण र सुशासनका नीति तथा कार्यक्रम अनि त्यसका लागि बजेट विनियोजनको काम पनि स्थगित हुन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्