जेठ २६, जुगल गाउँपालिका– ७ याङालाकोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको सुरुवात भएको छ । स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमबीच पालिका अध्यक्ष रेशम स्याङ्बोले उद्घाटन गर्नुभयो । स्वास्थ्य मन्त्रालयबाट बिनियोजन भएको ३८ लाख रकम बाट ४ कोठे भवन बनाउन स्थानीय ८५ जनाले एक हजार देखि ६६ हजारसम्म सहयोग गरेर ६ लाख ७१ हजार रकम सङ्कलन गरेर जग्गा खरिद गरि स्वास्थ्य भवन बनाईएको प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताउनुभयो।
फेज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको भवनमा बर्थिङ सेन्टर स्थापना गरिएकोमा स्थानीय महिलाहरू खुसी भएका छन् । अब सुत्केरी गराउनका लागि जलबिरेदेखि काठमाडौसम्म पुग्नु पर्ने बाध्यता हटेको उनीहरुको भनाई छ । बर्थिङ सेन्टर स्थापनाको लागि पालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले विशेष समन्वय गनूभएको हो ।
नवनिर्वाचित जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रमकै बीच स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको उद्घाटन गरिएको थियो ।कार्यक्रममा पालिका अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापती जंग लामा, ७ नम्बर वडाका अध्यक्ष रबि लामा, प्रशासकीय अधिकृत लोकबहादुर बिक, जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र स्थानीयको बाक्लो उपस्थिति थियो । सो कार्यक्रममा जुगलबासीको आर्थिक उन्नतिका लागि पालिकाले कृषिमा जोड दिने अध्यक्ष स्याङ्बोले बताउनुभयो । स्थानीयले जग्गा ब्यबस्था गर्न सकेमा ढिला नगरी तामाङ अध्ययन केन्द्र, तामाङ संग्रहालयको डिपिआर गरी तुरुन्त कार्यान्वयन गरिनेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्