२०८१ मंसिर २३
                           

चीन स्वशासित तिब्बत हीराको एक टुक्रा

-रामकृष्ण थापा
विशाल चीन स्वशासित तिब्बतको अनेकन उपनाम छन् । तिब्बतको औसत उचाइ चार हजार मिटर भएकोले यसलाई विश्वको छानो भनिन्छ । ठूला नदी र ताल यहीँबाट उत्पति भएकोले तिब्बतलाई वाटर टावर पनि भनिँदो रहेछ । ब्रम्हपुत्र, मेकङ, गंगा र इन्दुस यहाँका चार ठूला नदी हुन् ।
यहाँको प्रकृति अति सुन्दर छ । हावापानी पवित्र छ । जमिनबाट आकास हेर्दा सधैँ निलो देखिने र प्राय घाम लागिरहने भएकोले यसलाई भर्जिन ल्याण्ड भनेर पनि भनिन्छ । छिमेकी मुलुक भारतलगायत अन्य केही मुलुकबाट वर्षेनी हजारौंको संख्यामा हिन्दु, बौद्ध, जैन र बोन धर्मालम्बीहरु ५६ सय मिटरमा रहेको कैलाश पर्वत र मानसरोवर तालको मेला भर्न आउँछन् । त्यसैले धार्मिक हिसाबले पनि तिब्बतलाई एक स्वर्गको उपनाम दिने गरिन्छ । यहाँ सयौं वर्ष पुराना गुम्बा र मन्दिर प्रशस्तै छन् । ल्हासाको पश्चिममा रहेको ग्यान्जेमा बुद्धका दश हजार स्तुपा छन् । यहाँ सन् १९३० मा ब्रिटिस प्रवेश गरेका थिए । त्यतिबेला १३ औं दलाइ लामाले शासन गर्थे । तिब्बतको सेनाले ब्रिटिसलाई पराजित गरेर भगाएका थिए । ब्रिटिस प्रवेशकै कारण अहिले पनि तिब्बतका धेरैले अंग्रेजी बोल्न सक्छन् ।
तिब्बत चीनको एक विशिष्ट प्रान्त हो । भूगोलको हिसाबले यो दोस्रो प्रान्त हो । तिब्बतले नेपाल, भारत, बर्मा र भूटानलाई छोएको छ । १२ लाख वर्गकिलोमिटरमा फैलिएको तिब्बत नेपालभन्दा झण्डै नौ गुणा ठूलो छ । तर, जनसंख्या भने ३४ लाख मात्रै छ । जडीबुटी, वन्यजन्तु, ठूला घाँसे मैदान, ठूल्ठुला पठार, खोँच, चारैतिर हजारौं चट्टाने पहाडका कारण तिब्बतको भौगोलिक र प्राकृतिक स्वरुप अद्वितीय र विशिष्ट प्रकारको छ । ४५ सय मिटर उचाइमा रहेको सिटी नाक्चु विश्वकै हाइ अल्टिच्युडमा रहेको सहर हो । जुन तिब्बतमै पर्छ । वर्षात्को समयमा तीन महिना झार उम्रने भएकोले तिब्बतका हजारौं पहाड र हिमाली श्रृंखला प्राय हरिया देखिन्छन् । तर, जब चिसो मौसम सुरु हुन्छ त्यसपछि पहाडका ती श्रृंखला उजाडिन्छन् । पहाडको सुन्दरता र हरियो वातावरणलाई प्रवद्र्धन गर्न तिब्बत सरकारले पहाडभरि मेसिनद्वारा माटो भरिरहेको छ । चट्टाने पहाड सिंगैलाई फलामे तारले बाँध्ने प्रक्रिया जारी रहेको छ । हिउँदमा फुसफुसाउने हिउँ पहाडमा जमेर नबस्ने भएकोले भूक्षयको जोखिम छ । तिब्बत सरकारले पहाड र फराकिला समथर जमिनमा माटो भरेर वृक्षारोपण र खेतीको अभ्यास सुरु गरेको छ । जनता कोही फुर्सदिला छैनन् । कोही बेरोजगार छैनन् । केटाकेटी, बृद्धबृद्धा र गर्भवती महिलाको हेरचाह ठाउँठाउँमा रहेको चिनिया कम्युनिष्ट पार्टी संगठनले गर्छ । तिब्बत सरकार द्रुत गतिमा विकासको बाटोमा कुदिरहेको छ ।
संसारभर पाउने याक र चौँरी ९२ प्रतिशत तिब्बतमा पाइन्छन् । भेँडा र च्यांग्रा प्रशस्त छन् । पशुपालनबाट राम्रो आम्दानी हुने गर्छ । तर, यहाँको पहिलो आर्थिक स्रोत भनेको पर्यटन हो । वर्षेनी तीन करोड ४० लाख पर्यटक तिब्बतको भ्रमणमा आउँछन् । दुई लाख जतिमात्रै बाह्य पर्यटक हुन्, बाँकी सबै आन्तरिक । यहाँको आर्थिक बृद्धि दोहोरो अंकको छ । अरु धनी प्रान्तले तिब्बतलाई आर्थिक सहायत प्रदान गर्छन् । बिगत २० वर्षदेखि चीन सरकारले तिब्बतको विकासमा प्रशस्त आर्थिक स्रोत परिचालन गरेको छ । आर्थिक विकास, सामाजिक विकास र वातावरण संरक्षणलाई एकैसाथ अगाडि बढाएको छ । चीनको केन्द्रीय सरकारले तिब्बती संस्कृति, सम्पदा, संस्कार र सभ्यताको संरक्षण र प्रवद्र्धन गरेर विकासको गतिलाई तीब्रता दिएको छ । स्वास्थ्य शिक्षा र रोजगारमा तिब्बती जनतालाई चीन सरकारले पहिलो प्राथमिकतामा राखेको छ । तिब्बतीले स्वास्थ्यमा ८० प्रतिशत सरकारी अनुदान पाउँछन् । गरिबका छोराछोरीले छात्रबृत्तिमा चीनका विभिन्न सहरमा पुगेर उच्चशिक्षा हासिल गर्न पाउने व्यवस्था छ । सबैलाई सुविधासम्पन्न घर र गाडी दिएको छ । ढलान गरेको चौडा सडक, कञ्चन पानी, बिजुलीलगायत सबै आधारभूत सुविधाले गाउँसहर भरिपूर्ण छन् । सदरमुकाम ल्हासालगायत सहर घुम्दा थाहा हुन्छ तिब्बत प्राकृतिक र मानवीय संरचना विकासको हिसाबले हीराको एक टुक्रा हो । स्वर्ग भनेकै तिब्बत हो । त्यसैले पनि विश्वको नजर तिब्बततिर परेको छ ।
कसरी जाने र कति लाग्छ खर्च
काठमाडौको कमलादीस्थित चिनिया दूतावासको कन्सुलर सेक्सनबाट ल्हासाको लागि भिसा लिन सकिन्छ । तर, सबैका लागि भिसा सहज छैन । चीनको अरु प्रान्तको सहर गएका तेस्रो मुलुकका नागरिकले तिब्बत प्रवेशका लागि केन्द्रीय सरकारको निकायबाट प्रवेशाज्ञा प्राप्त गर्नुपर्ने हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एअरलाइन्स, चाइना एअरलाइन्सको प्लेन चढेर ६ सय किलोमिटर उडेपछि तिब्बतको गोङ्गा एअरपोर्टमा ल्याण्ड हुन्छ । ल्याण्ड हुनुपूर्व विश्वको अग्लो हिमाल सगरमाथाकै आसपासबाट हिमालको दृश्यावलोकन गर्दै गइन्छ । दुई घण्टामा गोङ्गा एअरपोर्ट ल्याण्ड हुन्छ । प्लेन भाडा सिजनमा ५९ हजार रुपैयाँ अपसिजनमा ४० हजारमा पाइन्छ । ल्हासाका सामान्य पर्यटकीय होटेलमा दुई सय चिनिया आरएमबी खर्च गरेर होटेलमा एक रातका लागि खानबस्न सकिन्छ ।
मनमोहक ल्हासा सहर
गोङ्गा एअरपोर्टबाट ट्याक्सी चढेर एक घण्टा आधामा ल्हासा सहर पुग्न सकिन्छ । एअरपोर्टबाट ल्हासा ६० किलोमिटर टाढा छ । एअरपोर्ट ओर्लेसँगै तिब्बतको प्राकृतिक सुन्दरता र विकासको बैभव अवलोकन गर्न सकिन्छ । ल्हासा सहर तीन हजार ६ सय ५० मिटर उचाइमा छ । हाइ अल्टिच्युडका कारण ल्हासा पुगेका नवआगन्तुकलाई पहिलो दिन नुहाउन र मदीरा सेवन गर्न निषेध गरिएको छ । गोङ्गा एअरपोर्टबाट केही अगाडि बढेपछि ब्रम्हपुत्र नदी (यारलुङ तिब्बती भाषामा) पार गरिन्छ । जहाँ दुई किलोमिटर लामो मोटरेबल पुल छ । त्यसपछि सुरुङ मार्ग सुरु हुन्छ । स–साना चट्टाने पहाडभित्रको पाँचवटा सुरुङ छिचोलेपछि ल्हासाको रेल स्टेशन पुगिन्छ । पूर्वबाट पश्चिम बगेको ठूलो ल्हासा रिभर, दुबै किनारमा ठूलो सहर र चारैतिर नाङ्गो चट्टाने पहाड नियाल्दा वास्तविक स्वर्गानुभूति हुन्छ । सहरका बीचमा स–साना पहाड छन् । जहाँ सुरुङ मार्ग निर्माण गरिएको छ । हरियाली सहर, स्वस्थ वातावरण । अभूतपूर्व भौतिक पूर्वाधारको विकास । सहरको बीच भागमा १३ सय वर्ष पुरानो पोताला दरबार । ल्हासाको पुरानो सभ्यतासँग जोडिएको जोखाङ टेम्पल । सातौ शताब्दीमा तिब्बती राजा सङचेङगम्पोले नेपाली हरिततारा भृकुटीलाई विवाह गर्नुपूर्व बेहुलीलाई स्वागत गर्न बनाइएको ‘वेल कम टु ब्राइड’ ( इनचिङ च्याओ चिनिया भाषामा) पुल निकै प्रशिद्ध छ । ल्हासाको मौसम आश्चर्यलाग्दो छ । प्रायजसो घण्टाको तीनपटक मौसम परिवर्तन हुन्छ । हावाको बेग बढी भएकोले एकैछिनमा बादलले ढाक्छ, क्षणभरमै खुला भएर सफा निलो आकास देखिन्छ फेरि क्षणमै वर्षा हुनसक्छ । वर्षात् ऋतुमा लाग्ने घाम निकै रापिलो हुन्छ । त्यसैले सबैले टाउकोमा ह्याट र आँखामा चस्मा लगाउँछन् । चिसो मौसममा यहाँको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्छ । हावामा अक्सिजनको मात्रा कम हुनाले चिसो मौसममा मानिसको जीवन कष्टकर हुन्छ । ल्हासा सहरको वातावरणीय सुन्दरता सधैँ कायम राख्न तिब्बत सरकारले ठूला ट्रान्सपोर्टेशन कम्पनी, जेल, उद्योग, बहुमूल्य खानी, विभिन्न प्रकारका कृषि फार्मलाई सहरबाहिर सञ्चालन गरेको छ । सहरभित्र पाँचतारे होटेलहरु प्नि छन् । थुप्रै पर्यटकीय होटेल र रेष्टुरेन्ट छन् । रेष्टुरेन्टहरुमा नेपाली र इण्डियन खानासमेत तयार हुन्छ । तिब्बती जनताको जीवनस्तर बृद्धि गर्न चीन सरकारले सम्पूर्ण आधारभूत कुराको व्यवस्था मिलाएको छ,’ स्थानीय टुरिष्ट गाइड नाम्ग्यालले भने, ‘बिगतमा २० हजार जनसंख्या थियो । अहिले ल्हासामा चार लाख मानिस बस्छन् । सबै खुसी र विकासप्रति अझ उत्साही छन् । तर, बिगतमाजस्तो परिश्रम गर्ने बानी चाहिँ हराएको छ । अत्याधुनिक मेसिनबाट सबै काम हुने गरेका छन्,’ उनले भने । आज देखिएको ल्हासा भोलि अझ समृद्ध भएर परिवर्तन भइरहेको उनले सुनाए । ल्हासाका कृषि फार्ममा इटाली र चीनकै युनान प्रान्तबाट ल्याइएको फूल, फल, जडीबुटीको विरुवा परीक्षण गर्दै कृषिलाई विस्तार गरिएको छ । जौ, गहुँ थोरै मात्रामा आलु र तोरीबाहेक अन्य अन्नबाली यहाँ सम्भव छैन । जौ र गहुँको पीठोबाट बनेको चाम्पा तिब्बतको मौलिक खाना हो । ल्हासासँग काठमाडौ महानगरपालिकाको भगिनी सम्बन्ध स्थापित भएको छ ।
विश्वप्रसिद्ध पोताला दरबार
पोताला दरबार तिब्बतको सदरमुकाम ल्हासाको बीच भागमा अवस्थित छ । यो १३ सय वर्ष पुरानो हो । सातौं शताब्दीमा तिब्बती राजा सङचेङगम्पोले पोताला निर्माण गरेका थिए । ल्हासाको जमिनबाट सूरु भएर एक सय ३२ मिटर उचाइसम्म दरबारको १३ तला छन् । पाँच हजार वर्गमिटरमा फैलिएको पोटाला मञ्जु भाषाको पवित्र शब्द हो । तिब्बतमा रहेका बोन धर्मावलम्बीले पोताला तयार गर्न ठूलो योगदान दिएका थिए । तिब्बतमा अहिले पनि २० प्रतिशत जनसंख्याले बोन धर्म मान्छन् ।
राजा सङचेङगम्पोको पालामा पोतालालाई रेड प्यालेस भनिन्थ्यो । सत्रौं शताब्दीमा पाँचौं दलाइ लामाले पोतालालाई व्यापक विस्तार गरे । दलाइ लामा मञ्जु भाषाको शब्द हो । जसको अर्थ हो बुद्धिको महासागर । उनैले रेड प्यालेसको नाम बदलेर पोताला राखेका थिए । १३ तला पोतालामा एक हजार १३ कोठा छन् । सबैमा घामको प्रकाश छिर्छ । पोताला दरबारको बाहिरी आवरणमा दुईटा रंग देखिन्छ । रातो रंगका दरबार धार्मिक ध्यान र कार्यक्रमका लागि प्रयोग हुन्थे । सेतो रंगको दरबार राजनीतिक कार्यका लागि दलाइ लामाले प्रयोग गर्थे । सेतो रंगका दरबार अहिले बन्द छन् । रातो रंगका दरबारभित्र पनि दलाइ लामा सुत्ने कोठा बन्द छ । चार हजार स्वयम्सेवकले १२ वर्ष लगाएर पोतालाको निर्माण गरिएको थियो । सत्रौं शताब्दीदेखि सन् १९४० सम्म दलाइ लामाले सोही दरबारबाट तिब्बतको शासन चलाएका थिए । जहाँ स्थानीय सरकारका आठ सय कर्मचारी र तीन सय उच्च तहका अफिसर पोतालाभित्र काम गर्थे । पोताला दरबार अवलोकनका लागि दुई सय आरएमबी तिरेपछि प्रवेशाज्ञा पाइन्छ । भित्र छिरेपछि पोतालाभित्रको आश्चर्य हेर्न दिनभर लाग्छ । यहाँको अध्ययन एक मानिसले आफ्नो जीवनकालमा पूरा गर्न सक्दैन । बिहान नौ बजे सुरु भएर साँढे चार बजे बन्द हुन्छ । प्रत्येक घण्टामा सात सय मानिसले पोतालाको अवलोकन गर्छन् । पाँचौदेखि १४ औं दलाइ लामासम्म वर्षात् ऋतुमा पोताला बस्थे । जब चिसो मौसम सुरु हुन्थ्यो तीन किलोमिटर पर रहेको नोर्बुलिंका भन्ने गुम्बामा गएर बस्ने गर्थे ।
पोताला दरबार ढुंगा, माटो र काठले बनेको छ । दरबारभित्रका सबै चिज हातले निर्माण गरिएको हो । दरबारको रंगरोगन १८ औं शताब्दीमा गरिएको थियो । त्यसपछि वर्षेनी सेप्टेम्बरमा दरबारको टुप्पोबाट रातो र सेतो रंग खन्याएर रंग लगाइन्छ । दरबारको क्षेत्रफल ठूलो र गारोमा चढ्न सम्भव नभएर रंग त्यसरी लगाइन्छ ।
दरबारभित्र मापनै गर्न नसकिने सम्पत्ति र सम्पदा छन् । विश्वभरका पुराना किताब यहाँ पाइन्छ । प्राचीनकालीन बहुमूल्य धातुबाट बनेका हजारौं मूर्ति छन् । दलाइ लामाले पूजा गर्ने, गोप्य धार्मिक मिटिङ गर्ने र धार्मिक सिंहासनको व्याख्या गर्न कठिन छ । त्यहाँभित्र रहेका सम्पत्ति र सम्पदाको लेखाजोखा गर्न असम्भवप्राय छ । दरबारभित्र पाँचौंदेखि १३ औं दलाई लामासम्मको पार्थिव शरीरलाई स्तुपाभित्र राखेर चिहान ( टुम्ब तिब्बती भाषामा) बनाइएको छ । एघारौंबाहेक सबै टुम्ब सुनबाट निर्माण गरिएको हो । पाँचौं दलाई लामाको टुम्ब १४ सय किलोग्राम सुनबाट निर्माण गरिएको छ । एघारौं दलाइ लामाको टुम्ब चाँदीबाट बनेको छ । अन्य लामाको टुम्ब पनि सुनबाट निर्माण गरिएको छ । प्रत्येक टुम्ब सात सयदेखि हजार किलोग्राम सुनबाट बनाइएको छ । सबैको टुम्ब निर्माणका लागि तीन हजार सात सय २१ किलो सुन प्रयोग भएको छ । पहिलोदेखि चौथो दलाइ लामाको काल्पनिक मूर्ति छन् । छैठौं दलाइ लामा छोटो समयमै तिब्बतबाट अलप भएकोले उनको इतिहास गर्भमै छ । दरबारभित्र राजा सङचङगम्पो र रानी भृकुटीको स्टाच्यू छ । सुन, हीरा बहुमूल्य रत्नबाट बनेको हजारौं मूर्ति, किताब, स्तुपा दरबारभित्र छन् । दरबारको भार घटाउन माथिल्लो दुई तला स–साना काठको टुक्रा प्रयोग गरेर गारो लगाइएको छ । दरबार यसभित्रको सम्पदा संरक्षणका लागि चीन सरकारले वर्षेनी ठूलो लगानी गर्छ ।
जोखाङ टेम्पल
जोखाङ टेम्पल तिब्बतको बीच भागमा पर्छ । ल्हासामा रहेको पोताला दरबारबाट अलिक पर रहेको जोखाङ टेम्पल तिब्बतको सबैभन्दा पुरानो गुम्बा हो । सातौं शताब्दीमा बनेको यो गुम्बामा बुद्धको ठूलो मूर्ति छ । टेम्पल वरिपरि सयौं बुद्ध धर्मावलम्बीले चौबीसै घण्टा पूजापाठ र ध्यान गर्छन् । वरिपरि ल्हासाको परम्परागत बस्ती छ । जहाँ विभिन्न प्रकारका बहुमूल्य तथा हातले निर्माण गरिएका पुराना सामग्री पाइन्छ । पहिला टेम्पलभित्र ल्हासा जेल पनि सञ्चालनमा थियो । तर, सन् १९४० पछि बन्द छ । जोखाङ टेम्पल वरिपरि रहेको पुरानो ल्हासा बजार निकै मनमोहक छ ।
तिब्बतको दोस्रो सहर सिगात्से
सिगात्से तिब्बतको दोस्रो ठूलो सहर हो । यो ३९ सय मिटर उचाइमा रहेको छ । घामको रापिलो किरण नजिकैबाट पर्ने हुनाले टाउकोमा ह््याट र आँखामा चस्मा लगाउनु पर्छ । आँखामा चस्मा नलगाएकालाई चाँडै क्यान्सर हुनसक्छ । ल्हासाबाट सिगात्से जाने दुईटा सडक र एउटा रेलमार्ग छन् । लामो सडकबाट सिगात्से पुग्न ६ सय ३५ किलोमिटर पर्छ । छोटो बाटोबाट दुई सय ६५ किलोमिटर । लामो बाटो जाँदा हजारौं पहाडका आश्चर्यलाग्दा श्रृंखला दृश्यावलोकन गर्दै जान पाइन्छ । रेलबाट जाँदा पनि दुई सय ६५ किलोमिटर पर्छ । रेलबाट सिगात्से पुग्न तीन घण्टा लाग्छ । भाडा ४५ आरएमबी लाग्छ । तर, प्राइभेट कारमा जानआउन दुई हजार देखि तीन हजार आरएमबी खर्च हुन्छ । सिगात्सेको छुट्टै विशेषता छ । यहाँका मानिस बढीजसो तिब्बती नै छन् । घरहरु प्राय परम्परागत शैलीका छन् । यहाँको प्राकृतिक सुन्दरताको वर्णन गर्न लामो समय अध्ययनको जरुरी पर्छ ।
यहाँ संसारकै नमूना र अत्याधुनिक वाइन फ्याक्ट्री छ । जुन चिनिया वैज्ञानिक विद्यार्थीले स्थापना गरेका हुन् । दुई अर्ब ५० करोड आरएमबी लगानीमा यो वाइन फ्याक्ट्र स्थापना भएको हो । हिमालै हिमालले घेरिएको हाइ अल्टिच्युडको समथर फाँटमा उत्पादित जौ र गहुँबाट वाइन तयार पारिन्छ । प्रत्येक वर्ष १० लाख टन जौ र गहुँ यस उद्योगमा खपत हुन्छ । यहाँ रहेको टासीलुम्बु मोनास्ट्री बौद्धमार्गीका लागि पोताला दरबारपछिको प्रसिद्ध तिर्थस्थल हो । जुन ११ औं दलाइ लामाका भाइ पेन्चेन लामाले बनाएका हुन् । सिगात्सेसँग बनेपाको सिस्टरसिटी रिलेसनसीप छ । सिगात्से नेपालसँगको व्यापारिक सम्बन्धको हिसाबले धेरै महत्वपूर्ण स्थान हो । चीनको मेनल्याण्डबाट आएका सामान जम्मा हुने ठाउँ सिगात्से हो । सिगात्सेसम्म आएको रेल अब छिट्टै केरुङ नाका हुँदै नेपाल प्रवेश गर्ने योजना रहेको ल्हासास्थित विदेश विभागमा कार्यरत डेपुटी डाइरेक्टर मिस्टर लिउलिन बताउँछन् । उनका अनुसार चीनको रणनीतिक प्रोजेक्ट बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) ले दक्षिण एसियाको विकासमा सघाउने छ ।

प्रतिक्रिया दिनुहोस्