२०८१ बैशाख ८

भूपी, धुपी र कविता

 

यही अगस्त ८ भूपी शेरचन (१९३५-१९८९) बारे पुस्तक उनकै छोरी कविता शेरचनले लेखेको भूपीः अ डअटर्स मेमोआयर विमोचन भयो ।

भूपीबारे अंग्रेजीमा र यो आकारको पहिलो पुस्तक जसमा भूपीका बहुआयामको चर्चा गरिएको छ । पुस्तकलाई दुई भागमा विभाजित गरिएको छ पहिलो भूपी व्यक्ति र दोस्रो भूपी कवि । पहिला भूपीको नामबारे चर्चा गरौंः आधिकारिक नाम भूपेन्द्रमान शेरचन, बनारस पढ्न गएको बेला क्रिकेट मैदानमा भूपेन्द्रलाई भारतीयहरूले भूपीन्दर उच्चारण गर्दा भूपी नाम राखेको, सन १९५१ मा भूपेन्द्रमान सर्वहारा, १९५४-५८ मा सर्वहारा नाम त्यागेर बी. एम. शेरचन र १९५९ देखि भूपी शेरचनको नामले लेख्न थाले त्यो नै अन्तिमसम्म अडिग रह्यो ।

भूपीको जन्म मुस्ताङ जिल्ला थाकखोला सानो गाउँमा एउटा धनी थकाली परिवारमा भएको थियो । उनी आमाबुवाका पाँचौं छोरा सन्तान थिए । भूपी ५ वर्षको हुँदा उनकी आमा पद्मकुमारीको मृत्यु भयो र भूपीलाई आमा टोकुवा भन्न थालियो । पुस्तकको सुरुवात नै यहीँबाट भएको छ । उनलाई आमाको मूल परेको भनियो र पारिवारिक सामाजिक रूपमा हेय दृष्टिले हेर्न थालियो । घरमा शिक्षकहरू राखेर भूपीका दाजुभाइहरूको पढाइ भएको थियो पछि बनारसमा चारजना दाजुभाइलाई एउटा भान्से र अर्को सुसारे राखेर पढ्ने व्यवस्था गरिएको थियो ।

बनारसमा भूपी रंगिला कहलाइए, १९५१ मा भूपेन्द्रमान सर्वहाराको नाममा परिवर्तन नाटक लेखेर धनवाद तिम्रो जनवाद हाम्रो गीत आफैले गाएका थिए । भूपी १८ वर्षका हुँदा नयाँ झ्याउरे आउँदै छ गरिबको जमाना कविता जनयुग प्रकाशन बनारसबाट प्रकाशित गरे । भूपीका दाइ योगेन्द्रमान शेरचन बनारसमा काँगे्रसका कार्यकर्ता थिए जो पछि बी. पी. मन्त्रीमण्डल १९५९-६० मा मन्त्री बने, भूपी कम्युनिस्ट । भूपीले बनारस हिन्दु विश्वविद्यालयबाट आइ.ए. पास गरेका थिए ।

काठमाडौं त्रिचन्द्रमा बी.ए. भर्ना भए तर पूरा गर्न सकेनन् । भूपीको १९ वर्षको उमेरमा पहिलो विवाह भएको थियो जसबाट ६ जना केटाकेटी जन्मिएका थिए । काठमाडौं बस्न थालेपछि अविवाहित भनेर १९६९ मा १९ वर्षकी कान्ति राणासँग ३३ वर्षका भूपीले पोखराको भद्रकाली मन्दिरमा दोस्रो विवाह गरेका थिए जसबाट छोरी कविता र छोरा भूपेश जन्मे । भूपीका बुवा हितमानको व्यापार व्यवसाय नौतनवा, भैरहवा, बुटवल, चितवन र काठमाडौंसम्म थियो ।

पुस्तकमा भूपीको ह्यूमरबारे निकै चर्चा गरिएको छ केही प्रसंग सान्दर्भिक नै होला । बनारसमा भूपी कविगोष्ठीहरूमा सहभागी हुन्थे । एउटा कविता गोष्ठीमा आ रहा है रंगीला विद्यार्थी कविता सुनाए पछि उनको नाम नै रंगीला रहेको थिया । एक पटक पाटन क्याम्पसका एकजना विद्यार्थीले १९७४-७५ तिर तपाईंको नाम भूपीको के अर्थ हो भनेर सोधेको प्रश्नमा भूपीको जवाफ भूतपूर्व पीयक्कड थियो ।

भूपीले १९७१ पछि पिउन कम गरेका थिए । पोखरामा एकजना विद्यार्थीले अटोग्राफ लिंदा तपाईंको घर (भन्न खोजेको ठेगाना) पनि लेखि दिनुस है भन्दा भूपीले भाइ तपाईंलाई घर लेखिदिन सक्तिन मेरो परिवार कहाँ राख्ने ? हो मेरो ठेगाना चाहिँ लेखि दिन्छु भनेका थिए । एक दिन भूपी नारायण गोपालको घर गएका थिए त्यहाँ गीतकार रत्न शम्शेर थापा पनि थिए दुबैले भूपीलाई हिन्दीमा आइएआइए भनेछन् भूपीले म आइ.ए. पास गरेको भनेर तपाईंहरूले कसरी थाहा पाउनु भयो भनेर हँसाए छन् । छोरा भूपेशको गालामा डण्डीफोर आउँदा भूपेश ऐना अगाडि मेकप गरिरहने । भूपीले छोरा आमिर खान बन्न बढी मेकप गर्दा जुही चावला पो बन्छ कि क्या हो भनेछन् ।

भूपीका समकालीन साथीहरूमा पुस्तकमा भएका नामहरू पढ्दा एउटा जँड्याहा जत्था नै बन्ने देखिन्छ । भीमदर्शन रोका, शंकर लामिछाने, ध्रुबचन्द्र गौतम, नारायण गोपाल, अम्बर गुरुङ, हरिभक्त कटुवाल, तीर्थबहादुर श्रेष्ठ, चेतन कार्की, शशिविक्रम शाह, उत्तम नेपाली, कृष्ण मानन्धर, वैकुण्ठ श्रेष्ठ, उज्ज्वल कुन्दन ज्यापू, अशेष मल्ल, मञ्जुल, विश्व विमोहन श्रेष्ठ, दिनेश अधिकारी, हेमन्त श्रेष्ठ आदिहरूमा केही कहलिएका जँड्याहा भएको नेपाली साहित्यका पाठकहरूलाई अवगतै भएको कुरा हो ।

हल्लैहल्लाको देशमा भूपीको पिउनेबारे पनि निकै चर्चा चलेको किताबमा उल्लेख छ । भूपीले धेरै पिएर कोटको खल्तिमा, टोपी फुकालेर टोपीमा वान्ता गर्ने चर्चा मात्र होइन ओछ्यान छेउ जर्किनमा जाँड राखेर पाइपले खाने अनि प्लास्टिकमा वान्ता गर्ने सम्मको आरोप भूपीलाई लाग्यो अनि पछि भूपी बौलाएसम्मको हल्ला फिँजाइयो । भूपीको पारिजातसँग विशेष सम्बन्धको चर्चा पनि पुस्तकमा उल्लेख छ तर यो सम्बन्ध साहित्यिक थियो भनिएको छ ।

पारिजात पछि वामपन्थी राजनीतिमा परिपक्क बन्दै गइन भने भूपीमा विचलन बढ्दै गएको देखिन्छ । पारिजात र भूपीको गन्तव्य विपरित भएको पाइन्छ । जीवनको उत्तरार्धमा भूपीका पठन सामग्री अखबारी पत्रिका छन भने पारिजात दर्शनमा डुबुल्किएकी छन् । भूपीको निर्मल लामासँगको सम्बन्ध पनि उल्लेख छ तर भूपी कसको प्रभावले कम्युनिस्ट बने पुस्तकमा प्रष्ट छैन ।

निर्मल लामाको सम्बन्धले छोरा प्रभावित भएको अनुमान भूपीका पिता हितमान शेरचानलाई भएको आभास हुन्छ । यहाँ पुस्तकको सबैभन्दा कटु संवेदनशील सम्बाद बाबुले छोरालाई बोलेको देखिन्छ । आमा त खाइस, अब मलाई पनि खा । भूपी स्तब्ध भए र बाबुलाई भने चिन्ता नगर्नुस् म तपाईंलाई मार्दिन अनि ठमेलको त्यो घर छोडेर हिँडे जहाँ उनको पहिलो पत्नीको परिवार बस्थ्यो फेरि कहिले त्यहाँ फर्केनन् ।

भूपीको उत्कृष्ट कविताको सिर्जना १९५४ देखि भएको देखिन्छ । वसन्त, सहिदको सम्झनामा, घुम्ने मेचमाथि अन्धो मान्छे, होचि-मिन्हलाई चिठी, हामी, सधैंसधैं मेरो सपनामा, गलत लाग्छ मलाई मेरो देशको इतिहास, सेती खोला, मैनबत्तीको शिखा आदि ।

साझा प्रकाशनले १९६९ मा भूपीको कविता संग्रह घुम्ने मेचमाथि अन्धो मान्छे छाप्यो अनि भूपी जनताका चहेता कवि भए । प्रतिकूल स्वास्थ्य जस्तै समयको अन्तरालमा भूपीको कविता लेखाइमा कमि आयो र एउटा समय यस्तो पनि आयो भूपीले राजा वीरेन्द्रको गुणगानमा कविता नै लेखेर आफूलाई विचलनमा पुर्‍याए । भूपी १९७९ मा प्रज्ञाको सदस्य मनोनित दसवर्ष जति प्रज्ञामा रहे ।

एक समय भूपीको कविताका प्रशंसकहरू उनको आलोचक भए । भूपीको देहान्त १९८९ भयो त्यसको एक वर्ष पछि भूपीले जयजयकार गरेको राजाको शासन कमजोर भयो देशमा बहुदल आयो । अहिले त देश गणतान्त्रिक भएको छ । भूपीको सधैंसधैंको सपना अर्कै भएको छ । चालिस वर्षदेखि बिर्सदैं गएका भूपीलाई छोरी कविताले फेरि ब्युँत्याएकी छन् ।

मैले भूपी, धुपी र कविता शीर्षक लेख्नको कारण भूपीले घरको धुपीबोट मुनि कविता लेखेका छन्, बच्चाहरूलाई क्रिकेट खेलाएका छन्, रक्सी पिएका छन्, चुरोट तानेका छन्, पान पराग थुकेका छन् उनको पहिलो टेलिभिजन अन्तर्वार्ता दीपा गौतमले त्यही धुपीको बोटमुनिबाट भूपीको नमस्कार सम्बोधन गरेकी थिइन र कविता भूपीका दुई सिर्जना रचना कविता र छोरी कविता । किताबमा कविताको बुवा सम्बोधन किताबले शौन्दर्य नै बढाएको छ ।

किताबमा केही टाइपो इरर छन् कहीँ भूपी ५ वर्षका हुँदा आमा वितेको कहीँ छ वर्षको हुँदा वितेको लेखिएको छ, लेखक कविताको नाम आवरणमा कविता लेखिएको छ तर पारिवारिक तस्वीरमा कबिता छ, सधैंसधैं मेरो सपनामा कविता सधैंसधैं मेरो सम्झनामा लेखिएको छ । भूपीको कविता पढ्ने पिढी पाको भइसकेको छ तसर्थ किताबको फन्ट साइज अलि ठूलो भएको भए राम्रो हुने थियो । भूपीबारे देश र दुनियाँले बुझ्ने एउटा सुन्दर पुस्तक आएको छ । बधाई कविता ।( भरत पोखरेलको मुहार पुस्तिकाबाट )

प्रतिक्रिया दिनुहोस्