२०८१ बैशाख ८

तातोपानी नाकाबाट दशैं अघि नै मानव आवत जावत खुल्ला गर्ने सहमती

१४ साउन, काठमाडौं । नेपाल चीनबिच प्रमुख व्यापारिक तातोपानी नाकाबाट दशैं अघि नै मानव आवत जावत खुल्ला गर्ने सहमती भएको छ । गत बैशाख १८ गतेदेखि दोहोरो आयात निर्यात सुचारु भएको नाकाबाट मानव आवतजावत खुला हुन लागेको हो ।

नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत नाका खुला गर्ने सहमति गरेको हो । चीनको तिब्बतमा यही साउन ९ र १० गते सम्पन्न बैठकमा सेप्टेम्बर महिनाभित्र नाकाबाट मानवका लागि समेत खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।

‘बैठक फलदायी भयो, थुप्रै विषयमा छलफल र सहमति भए,’ तिवारीले भने, ‘सेम्टेम्बर महिनाभित्र तातोपानी नाका मानवका लागि समेत खोल्न उहाँ (चिनियाँ) हरू सहमत हुनुभयो, निर्णय भएर माइन्युट नै भएको छ, यो सबैभन्दा महत्वपूर्ण उपलब्धि भयो ।’ तिवारीले नेतृत्व गरेको नेपालको सात सदस्यीय वार्ताटोली शनिबार मात्रै काठमाडौं आइपुगेको छ ।

२०७२ को भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो । १६ जेठ २०७६ मा नाका पुनः सञ्चालनमा आयो । तर, मानिसका लागि भने खुला गरिएन । चीनले निर्यातसमेत खोलेको थिएन । कोभिड सुरु भएपछि उक्त नाका एकतर्फी मात्रै सञ्चालन हुँदै आएको थियो ।

गत १८ वैशाख २०८० देखि तातोपानी नाकाबाट आयात–निर्यात हुने गरी दुईतर्फी सञ्चालनमा छ । तर, मानिस आवतजावत भने अझैसम्म खुला गरिएको थिएन । नेपालले मानिसका लागि समेत नाका खुला गरिनुपर्ने माग गर्दै आएको थियो ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्