मेलम्ची पहिरो पीडितको व्यथाः न रहयो बास, न बच्यो गाँस

देवराज सुवेदी /मेलम्ची:असार १ गते साँझ हेलम्बु गाउँपालिका- १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिकर अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठुलो क्षति पुयाएको छ।

बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पुयायो । व्यक्तिगत घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो। साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ छ भने सञ्चार माध्यममा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।

कोरोनाको कहरका बिचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरूपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयका रूपमा परिचित छ । असार १ गतेको बाढीले सामान्य क्षति पुयाएको विद्यालयमा शनिवारको बाढीले विद्यालयको भौतिक रूपमा क्षति गर्यो।

विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो । यसले गर्दा हजारौं विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षाप्रेमी महानुभावले चासोर चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन ? स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन ।

विभिन्न संघसंस्था, दातृ निकाय र अभिभावकहरुको पहलमा विद्यालयको भवन निर्माण भएको थियो । २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यति बेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र संघर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरुले भुल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो। एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको फाइदा चैं के थियो भने विद्यालयको भवन ढले पनि जमिन चैं त्यहीँ थियो । अहिले न घर छ, न जमिन । यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ।

विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्छन् । भूकम्पको बेला जस्तै आम अभिभावक, शिक्षा प्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि
भन्ने अभियानमा लागेको उहाँले जानकारी दिए। मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो । यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउँछन्।

रेडियो मेलम्ची पूर्ण क्षति बाढीले रेडियो मेलम्ची १०७.२ मेगाहर्जको कार्यालयमा बाढीले पूर्ण क्षति पुयाएको छ। बाढीको सूचना दिँदादिँदै आफै बाढीमा डुबेको रेडियो मेलम्चीले ठुलो क्षति बेहोर्नु परेको छ । समुदायको सहयोगमा भखरै निर्माण सम्पन्न भएको रेडियोको भवन क्षणभरमै बाढीमा मिल्दा समुदायको मन रोएको छ । समुदायसँगै सहयोग सङ्कलन गरेर ठडिएको भवन अहिले डुबानमा छ । रेडियोको सम्पूर्ण सामानमा क्षति पुगेको छ। ल्यापटप, कम्प्युटर, विभिन्न डिभाइस, क्यामेरा, नगद पैसालगायत रेडियोसँग सम्बन्धित सम्पूर्ण कागजपत्रहरु बाढीले बगाउँदा अहिले रेडियो सञ्चालन गर्न हम्मे हम्मे भएको छ। धरै मिहिनेतपछि आफ्नै भवनबाट सञ्चालनमा आएको रेडियो फेरि पनि पुरानै अवस्था अर्थात् जस्ताको टहरोमा नै सीमित भएको छ।