सिन्धुपाल्चोकको बाढी, पहिरो र डुवानले पारेको समस्याबारे सभामुखले गरे परामर्श

चौतारा:सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लामा बाढी, पहिरो तथा डुवानले पारेको समस्याको साधानबारे परामर्श गरेका छन् ।

सभामुख सापकोटाको सचिवालयका अनुसार उनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङसँग तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवं जोखिमबारे छलफल गरेका हुन् ।

गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएको थियो ।

सभामुख सापकोटाले यस विषयमा मन्त्री नेम्बाङमार्फत सरकारको ध्यानाकर्षण गराएको सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । उहाँले जोखिममा परेका स्थानीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराउनु भयो, न्यौपानेले भने । सभामुख सापकोटा र मन्त्री नेम्बाङबीचको सम्वादपछि आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुचारु गरिने जानकारी दिएका छन् । भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।