संघीय सरकारले दिएन, स्थानीय सरकारसँग पर्याप्त रकम नै भएन

फ्रन्टलाइन स्वास्थ्यकर्मी

चौतारा/ कोरोना भाइरस (कोभिड–१९) महामारीसँग फ्रन्टलाइनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ताको घोषणा गरेको थियो । तर, सिन्धुपाल्चोकमा संघीय सरकारले घोषणा गरेजस्तो जोखिम भत्ता बापतको रकम आएन ।
जिल्ला जनस्वास्थ्य कार्यालय चौतारामा कार्यरत १४ कर्मचारी र चौतारा अस्पतालमा काम गर्ने अधिकांश स्वास्थ्यकर्मीको लागि ०७७ कात्तिकसम्मको जोखिम भत्ता हालसालै आएको छ । तर, रकम थोरै आएकोले कसरी वितरण गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर दुर्गादत्त चापागाइँले बताए । परन्तु, जिल्लाभर काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ता भनेर रकम पठाएन । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुलीका अनुसार स्थानीय तहमा काम गर्ने स्वास्थ्यकर्मीका लागि तलबाटै भत्ता वितरण गर्नुपर्ने नीति छ । आइसोलेसन, क्वारेन्टाइन र कन्ट्याक्ट ट्रेसिङमा खटिएका करिब ४० स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिएको उनले जनाइन् । कोभिड बिरामीको उपचारमा संलग्नलाई तलबबराबर र अरुलाई काम हेरेर ५० र २५ प्रतिशतका दरले चौतारा साँगाचोकगढी नगरले जोखिम भत्ता वितरण गरेको थियो । करारमा रहेका र स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कुनैपनि भत्ता दिइएको छैन ।
मेलम्ची नगरपालिकामा ४० स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिएको मेयर डम्बर अर्यालले बताए । ‘संघीय सरकारले बोलेको रकम हामीकहाँ एक पैसा पनि आएको छैन,’ उनले भने, ‘सरकारले घोषणा गर्ने तर कार्यान्वयन नहुने पुरानै चलनको शिकार भइयो ।’ त्यसो त जिल्लामा रहेका १२ वटै स्थानीय सरकारलाई जोखिम भत्ता भनेर सरकारले रकम पठाएको छैन । नगर र गाउँपालिकाले आ–आफ्नै तरिकाले निर्णय गरेर फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिएका छन् । कोभिडको पहिलो लहरताका निर्णय भएर दिएको भत्ता अहिले दोस्रो लहर चलिरहँदा त्यसैलाई निरन्तरता दिने अवस्थामा स्थानीय सरकार पुगिसकेको छैन । भत्ता नपाउने करारका स्वास्थ्यकर्मी सरकारसँग असन्तुष्ट छन् । सरकारी घोषणा कागजमै सीमित भएकोले दोस्रो लहरको कोभिडसँग लड्न स्वास्थ्यकर्मी आनाकानी गरिरहेका छन् ।
हेलम्बु गाउँपालिकाले ३५ स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता प्रदान गरेको छ । भोटेकोसी गाउँपालिकाले २८ स्वास्थ्यकर्मीलाई तलब बराबर जोखिम भत्ता उपलब्ध गराएको छ । तर, अब रकम अभाव भएकोले दिने अवस्था छैन । जुगल गाउँपालिकाले तोकेरै जोखिम भत्ता दिएको छैन । खासखास अवस्थामा मात्रै भत्ता दिएको छ । बाह्रबिसे नगरपालिकाले ६० स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले २५ स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिएको थियो । त्यसैगरी लिसंखुपाखर गाउँपालिकाले २९ स्वास्थ्यकर्मीलाई ६० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको पालिका अध्यक्ष कमल नेपालले बताए । बलेफी गाउँपालिकाले १५ स्वास्थ्यकर्मीलाई भत्ता दिएको छ । करार र सबै स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि भत्ता दिएर मनोबल बढाउनुपर्ने खाँचो रहेको अध्यक्ष केदार क्षेत्री बताउँछन् । इन्द्रावती, पाँचपोखरी थांपाल र सुनकोसी गाउँपालिकाले पनि आवश्यकताअनुसार पालिकास्तरबाटै निर्णय गरेर जोखिम भत्ता वितरण गरेका छन् । दोस्रो लहरको कोभिडविरुद्ध जुध्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने विषयमा कुनैपनि स्थानीय सरकारले नयाँ निर्णय गरेका छैनन् ।