सामाजिक सञ्जालमा श्रद्धान्जली र समवेदना

श्रद्धान्जली र समवेदना

रमेश शुभेच्छुरमेश शुभेच्छु-

लाग्छ, नोलीहरु सामाजिक सञ्जालमा श्रद्धान्जली र जन्म दिनको शुभकामना दिन अगाडि छन् ।
सरसरती हेर्दा धेरैले आफन्त, साथीभाइ र मान्यजनको जन्मदिनको अवसरमा फोटोसहित शुभकामना दिन्छन् । त्यसो त कुनै सफलतामा झन् खुसीले फोटोसहित शुभकामना दिन्छन् । चाडपर्वका शुभकामना पनि फोटोसहित हुन्छन् । यस्ता शुभकामना मिश्रित फोटोहरु हेर्दा पनि रमाइलो लाग्छ । शुभ कामना पढ्दा पनि आनन्द आउँछ ।

जन्म दिन, कुनै वधाई वा पर्वको प्रभाव हो वा चेतना स्तर कमजोर भएर हो यसले अर्को संवेदनशील पाटो हस्तक्षेप गरिरहेको छ । धेरै समाजिक सञ्जाल प्रयोक्ताले कसैको मृत्युका घडीमा आफूसँगै भएको मृतकको फोटो राखेर श्रद्धान्जली दिने गरेका छन् । यसले झट्ट हेर्दा कतिपटक श्रद्धाञ्जली दिने व्यक्ति नै बितेको हो कि भन्ने भ्रम पर्छ । हामीलाई पनि यस्तो भ्रम नभएको होइन । सामाजिक सञ्जालमा यस्तो किसिमको फोटो प्रदर्शनको सामान्य विरोध देखिए पनि यसरी प्रदर्शन गर्ने क्रम निरन्तर बढिरहेको छ । यसलो समाजको कमजोर मानसिकता, प्रचारमुखी चरित्र उजागर गरिरहेको छ ।

कतिपय हार्दिक श्रद्धान्जली भनेर आफ्नो र मृतकको फोटोसहित मृतकका आइडीमा ट्याग गरिएका पोस्ट पनि पढिए । आफू मृतकका छेउमा मुस्कुराइरहेको फोटो राखेर हार्दिक श्रद्धान्जली भनेका पोस्ट त कति भेटिए भेटिए । यसो गर्दा समाजमा कस्तो असर पर्छ भन्ने विषयमा भने चिन्तन गरेको देखिएन । यसमा असचेत नागरिक होइन सचेत नागरिक पनि अलमलिएको देखियो । सही वा गलत के गरिरहेको छु भनी सञ्जाल प्रयोगकता बेखबर देखियो ।
श्रद्धान्जली मृतक व्यक्तिलाई दिने भावाभिव्यक्ति हो । यसले मृतकसँगका शोक र अभावलाई बिर्सन सघाउँछ । यस्तो श्रद्धाञ्जली दिन हतार गरिहाल्नु पर्दैन । व्यक्ति मृत भए नभएको बुझेर पक्का भइसकेपछि मात्र दिनु राम्रो हुन्छ । त्यसमा पनि सम्बन्धित मृतक व्यक्तिप्रति हृदयदेखि नै श्रद्धा भए मात्र दिने हो । यो देखाउनका लागि वा भन्नका लागि भनिने शब्द र गरिने व्यवहार हुँदै होइन ।
समवेदना अर्को संवेदनशील पक्ष हो । श्रद्धाञ्जली मृतकले पाउँछ भन्ने निस्चित छैन तर मृतकका परिवारमा प्रकट गरिएको समवेदनाले त्यस परिवारमा मृतकको शोकलाई शक्तिमा बदल्ने सामथ्र्य राख्छ । यही सामथ्र्य र उर्जाका लागि मृत व्यक्तिका परिवारमा बाँचेका सदस्यप्रति समवेदना प्रकट गरिन्छ । समवेदना दिनका लागि श्रद्धाञ्जलीको भन्दा भाषा फरक हुन्छ । एकै तस्बिरमा श्रद्धाञ्जली र समवेदना भन्नु पनि असोभनीय कुरा हो ।
केही वर्षअघि सामाजिक सञ्जालमा राष्ट्रकवि माधव घिमिरेप्रति श्रद्धाञ्जलीको ओइरो लाग्यो । पछि उनी जिवितै थिए । झन्डै दुई वर्षपछि मात्र उनको देहान्त भयो । उनले यो विषयलाई लिएर पुनर्जीवन शीर्षकको कविता नै लेखे । हाम्रा सामाजिक सञ्जालमा यो अवस्था बारम्बार दोहोरिरहेको छ । भर्खरै पनि यस्तो घटना भयो । सयौँ जना संसद् मन्त्रीसमेतले श्रद्धाञ्जली दिएका ती व्यक्तिको स्वास्थ्य सुधारोन्मुख छ ।
समवेदना र श्रद्धाञ्जली दुवै. व्यक्तिगत र भावनात्मक कुरा हो । मृत व्यक्तिलाई दिएको श्रद्धाञ्जली उसले प्रत्यक्ष रुपमा नपाए पनि यो समाजको संस्कार र संस्कृतिसँग जोडिएको पक्ष हो । यसमा हतार गरिरहनु पर्ने कुरा केही छैन । बाबु मरेको थाहा पाउनासाथ छोराले पनि श्रद्धाञ्जली दिँदैन । बाबुको लास व्यवस्थापनपछि बल्ल श्रद्धाञ्जलीको आरम्भ हुन्छ । सामाजिक सञ्जालस प्रयोग कर्ता भने व्यक्तिको लासको फोटो राखेर, लाससँग उभिएको वा माला लाउँदै गरेको फोटो राखेर र भेटेसमम मृतकको शरीर तातो हुँदैका तस्बिर राखेर श्रद्धाञ्जली भनिरहेका हुन्छन् । यसले नेपाली सामाजिक मनासिकता कमजोर छ भन्ने प्रमाण दिन्छ ।
समवेदना श्रद्धाञ्जलीभन्दा अझ गहिरो कुरा हो । यसलाई सार्वजनिक रुपमा भन्दा पनि व्यक्तिगत रुपमा दिने र पाउने बिच सीमित राख्नु राम्रो हुन्छ । यस्ता विषयमा आधुनिक प्रविधि प्रयोग गर्दा पनि फोन, मोवाइलको म्यासेज बक्स, म्यासेन्जर, इमेल जस्ता सम्वन्धित व्यक्तिले मात्र पाउने इनबक्सको प्रयोग गरिनु राम्रो हुन्छ । तर हामी त्यसो गरिरहेका हुँदैनौँ । फेसबुकमै सुनौलो फ्रेममा आफन्तलाई फ्रेम हस्तान्तरण गर्दै गरेका तस्बिरसहित समवेदना भनिरहेका हुन्छौँ । अझ फ्रेम दिँदै गर्दा मुस्कुराइरहेका हुन्छौँ । झट्ट हेर्दा लाग्छ त्यहाँ समवेदना दिइँदै छैन कि कोही सम्मानित भइरहेको छ । यो गम्भीर पक्ष किन यति सस्तो हुँदैछ ? यो कस्तो सामाजिक मनोविज्ञान विकास भइराखेको छ ? हामी अनजान बनिरहेका छौँ कि बढी जान्ने भइरहेका छौँ । प्रश्नै प्रश्नको ओइरो लाग्छ ।
मृत्यु सबैका छेवैमा ढुकेर बसिरहेको हुन्छ । मानव जातिमा कसैको मृत्युको चर्चा हुनु सभ्यता हो । मृतकलाई सम्झना गरिनु र श्रद्धान्जली दिनु सभ्यताको कुरा हो । लिखित समवेदना दिनु वौद्धिक सभ्यताको रक्षा हो । मृतकका परिवारमा समवेदना प्रकट गरिनु सामाजिक संयम र प्रचलन हो ।
हाम्रा पुर्खाहरु हजारौँ वर्षदेखि मृतकका परिवार जनमा समवेदना प्रकट गर्दै आएका छन् । मानोचामलका नामममा यस प्रचलनले हजारौँ वर्षदेखि मानव सभ्यता सिकाइरहेको छ । हातमा क्यामेरा छ भन्दैमा लासका तस्बिर राखेर कुनै परिवारका आफन्तलाई शोक र पीडामाथि थप शोक पिँडा दिनु कुनै सभ्यता होइन । यो सामाजिक अवराध हो । नैतिक धरातल पनि कमजोर भएको प्रवृत्ति प्रदर्शन हो । मरेका मानिसका तस्बिर विभत्स, कारुणिक र गोपनीयताका विषय हुन सक्छन् । परिवारका सदस्यको त्यस्तो तस्बिर सार्वजनिक नगर्ने विचार हुन सक्छ । स्वयम् मृतक व्यक्तिको इच्छा पनि आफ्नो मृत शरीरको तस्बिर प्रचार नहोस् भन्ने हुन सक्छ ।
समाज निर्माण त मान्छेको भिड बढ्दै जाँदा भइहाल्छ । सभ्य समाज बन्न भने बर्षौ लाग्छ । सभ्य समाजका सभ्य नागरिक हुन समय लाग्छ । हाम्रा सामाजिक जीवनमा यस्ता संवेदनशील विषयमा बहस हुन बाँकी नै छ ।