कोरोना कहरबीच तातोपानी नाकाबाट ७७ करोड राजश्व संकलन

चौतारा:कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालन भइरहेको उत्तरी तातोपानी नाकाबाट नौ महिनामा ७७ करोड राजस्व संकलन भएको छ।

चीन र नेपाल सीमाको तातोपानी नाकाबाट नयाँ मोडालिटीअनुरुप स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइएको छ ।दिनहुँ आठवटा कन्टेनरबाट युरिया मल, स्याउ र हाइड्रोपावरका उपकरणलगायत सामग्री भित्रिइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

‘गत साउनदेखि वैशाखसम्म ७७ करोड राजस्व संकलन गरिएको छ, कोभिडबीच कडा सतर्कता अपनाएर कन्टेनर भिर्त्याइँदै छ,’ उनले भने।

भोटेकोशी गाउँपालिका- २ तातोपानी लिपिङ क्षेत्रको पुरानो भन्सार कार्यालयदेखि मितेरी पुलसम्म आइसोलेट क्षेत्रमा ‘टेलर’ कन्टेनर प्रयोगमा ल्याइएको छ। यसअघि ७ जना कामदारमा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका तीन महिना बन्द भएको थियो। त्यसलगत्तै सावधानी अपनाउन नयाँ प्रयोग गर्दै सिल्क ट्रान्सपोर्ट कम्पनीका ५ वटा ‘ट्रेलर’ कन्टेनरबाट सामग्री भिर्त्याउन सुरू गरिएको हो।

आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड राजस्व संकलन भएको थियो । त्यसबेला दिनहुँ ५० कन्टेनर भित्रिने गरेका थिए । २०७६ पुसमा चीन क्षेत्रमा कार्यरत केही कामदारमा कोरोना देखियो । २०७७ असारमै तातोपानीमै लोडरको काम गर्नेमा संक्रमण पुष्टि भएपछि नाका पूरै ठप्प बन्यो ।

‘कोभिड र बाढीपहिरोकै कारण पनि नाका नियमित बन्न सकेन, गत मंसिरबाट केही सहज भए पनि राम्रो राजस्व संकलनको अपेक्षा थिएन । यो ९ महिनामै ७७ करोड राजस्व संकलन भयो । संकटको क्षणमा यत्तिको हुनु ठीकै हो,’ उनले भने ।

कोभिड र भोटेकोशी बाढीपहिरोपछि पनि दुई पटक ठप्प भएर पुनः आइसोलेटसहित चलिरहेको नाकामा कार्यरत चालक, लोडर, कर्मचारीलगायत गरी करिब तीन सय ५० लाई कोरोनाविरूद्धको खोप लगाइएको खत्रीले प्रस्ट्याए।