तिम्रो नाममा ! (कविता)

बलराम तिमल्सिनाबलराम तिमल्सिना-

प्रिय कार्ल
अचम्म अचम्म चलेको छ अचेल
तिम्रो नाममा !

महाजनहरूले दल खोलेका छन्
लुट मच्चाएका छन्
र त्यो सारा लुट भैरहेछ -तिम्रो नाममा !

बाहिर कसैले मण्डली चलाएको छ
नाम छ- मार्क्सवादी अध्ययन मण्डल
र भित्र घुसारिरहेछ व्लाउजभित्र हात कोही
मुसारी रहेछ तरुनीका तिघ्रा कोही
र फालिरहेछ पैसा हावामा
र जो त्यसो गरिरहेको छ
ऊ मन्त्री बनेको छ -तिम्रो नाममा !

मार्क्सवादी रियल स्टेट कम्पनी
मार्क्सवादी सुन्दरी प्रतियोगिता
मार्क्सवादी भट्टी
मार्क्सवादी काम वासना समन केन्द्र
मार्क्सवादी बचत तथा ऋण सहकारी
मार्क्सवादी सीमापार अदृश्य व्यापार
यस्तै यस्तै चल्न थालेका छन् -तिम्रो नाममा !

प्रिय मार्क्स !
मजदूरहरूको जुलुशमाथि
गोली हानीरहेछ कोही-तिम्रो नाममा !

सरकारी मुख्यालयबाट
अपहरणको नेतृत्व गरिरहेछ कोही
हाक्काहाक्की तिम्रै नाममा !

सुकुम्बासी बस्तीमा
चलाइरहेछ डोजर कोही-तिम्रो नाममा !
एकान्तमा छोरी मान्छेलाई
लखेटिरहेछ कोही- तिम्रै नाममा !

प्रिय कार्ल !
सबैभन्दा छिटो बन्नु छ भने अरवपती
अचेल तिम्रै नाम लिइन्छ
तिम्रो नाम जपेपछि
सबै अश्लिल गोरखधन्दा गर्न छुट छ !

प्रिय मार्क्स !
तिमी हुन्थ्यौ भने अहिले
देखिसकेपछि यी सारा गतिविधि
भन्ने थियौ होला-
‘गोली ठोक यी मार्क्सवादीहरूलाई
या त फासीमा झुण्ड्याइदेऊ
या जिउदै पुरिदेऊ जमीनमा !’
हो प्रिय मार्क्स,
त्यही भैरहेछ यहाँ
अपराधले हद पार गर्दै छ-तिम्रो नाममा !

प्रिय कार्ल !
अब एउटा मात्र कुरा बाँकी छ
तिम्रो नाममा मन्दिर बन्न बाँकी छ
र तिनीहरूले तिमीलाई भगवान भन्न बाँकी छ !