नेपालमा लोकतन्त्रको विकास, बिस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ: सभामुख सापकोटा

चौतारा:विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा हार्दिक शुुभकामना व्यक्त गर्नु भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा भएका संघर्षहरुमा आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्ण सञ्चारकर्मीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली !

संविधान सभामार्फत् जनताका प्रतिनिधिहरुद्वारा निर्मित संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेपश्चात हामी यसको व्यवहारिक अभ्यासका क्रममा छौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष हो । नेपालमा लोकतन्त्रको विकास, बिस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ । प्राप्त अधिकारहरुको उपयोगका लागि सञ्चार जगत सधैंजस्तै निर्भीकतापूर्वक लागिरहने छ भन्ने विश्वास लिएको छु । कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भएपनि सामूहिक पहल र प्रयत्नबाट त्यस्ता समस्याहरुलाई निराकरण गरिएको छ । संघीय संसद प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं सँगै रहेको विश्वास दिलाउन चाहन्छु ।

यो बर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा हामी कोभिड–१९ को दोस्रो लहरसँग जुधिरहेका छौं । अग्रपंक्तिमा रहेर काम गर्ने दर्जनौं सञ्चारकर्मीहरुमा कोभिड संक्रमण भएको यसबाट सञ्चारकर्मीहरुको निधन समेत भएको खबर पाएको छुु । दिवंगत सञ्चारकर्मीहरुप्रति श्रद्धासुमन अर्पण गर्दै संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

सञ्चारकर्मीहरुलाई आफू पनि सजक रहेर काम गर्ने र आम दर्शक, स्रोता र पाठकहरुलाई पनि सचेत गराउनु पर्ने दोहोरो जिम्मेवारी छ । विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य सतर्कता अपनाएर सञ्चार जगतले उदाहरणीय भूमिका खेल्ने छ भन्ने विश्वास लिएको छु । अहिले सञ्चार जगतलाई कोभिड–१९ बाट सिर्जित महामारीबाट नागरिकलाई सूचित गरी सुरक्षित बनाउने जिम्मेवारी पनि थपिएको छ । यस दिवसले सम्पूर्ण सञ्चारकर्मीहरुमा ऊर्जा र हौसलाका साथ सरोकारवाला र आम नागरिकलाई झकझकाउन निरन्तर लागिरहने उत्प्रेरणा मिलोस् भन्ने कामना गर्नु भएको छ ।