बलेफी गाउँपालिका वडा नं २ को भवन निर्माणमा कांग्रेस कार्यकर्ताको अबरोध

बलेफी गाउँपालिका वडा नं २ को भवन निर्माणमा कांग्रेस कार्यकर्ताको अबरोध

बलेफी/ सिन्धुपाल्चोक जिल्लाको उत्तरी विकट बलेफी गाउँपालिका वडा नं २ को भवन निर्माणमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्यसहितका कार्यकर्ताले श्रमिक मजदुरमाथि अभद्र व्यवहार गर्दै अबरोध सृजना गरेका छन् ।

भवन निर्माणका विषयमा गाउँपालिकामा भएको सहमती अनुसार समितिले काम थालेपछि वडाका कांग्रेस कार्यकर्ताहरुले शनिबार निर्माणस्थलमा पुगेर गुण्डागर्दी गर्दै कामदारमाथि हातपातको प्रयास गरेका छन् । वडा कार्यालय निर्माण समितिका अध्यक्ष कुलपिद थापाका अनुसार कांग्रेसका वडा कुस थापाको नेतृत्वमा निर्माणस्थल पुगेका कांग्रेस कार्यकर्ताले काम नरोके निर्माण समिति र श्रमिक मजुदर माथि नै आक्रमण गर्ने धम्कि दिएका थिए । श्रमिक दिवसको दिनमा पनि काममा रहेका मजदुरमाथि वडा र वडा बाहिरका समेतका कांग्रेस कार्यकर्ताबाट अभद्र व्यवहार भइरहँदा सोही ठाउँमा रहेका वडा अध्यक्ष छविलाल न्यौपाने भने मुकदर्शक बनेको र केही समयमै त्यहाँबाट बाहिरीएको निर्माण समितिका अध्यक्ष थापाले जानकारी दिएका छन ।

बलेफी गाउँपालिकाको वडा नं २ को भवन बनाउन ४५ लाख बजेट विनियोजन भएको वडा कार्यालयले जानकारी दिएको छ । सुरुमा वडाबाट २५ लाख रकमबाट भवन निर्माण सुरु गर्ने तयारी भएको थियो । यो वर्ष २० लाख थपिएपछि नयाँ उपभोक्ता समिति बनाएर काम अघि बढाउन लागिएको थियो । कांग्रेसबाट जितेका वडा अध्यक्ष छविलाल न्यौपानेले आफू अनुकुलको निर्माण समिति बनाएपछि एमाले, माओवादी केन्द्र लगायतका दलहरुले सबैको सल्लाहमा काम अघि बढाउन सुझाव दिएका थिए । स्थानीय बासिन्दाका अनुसार वडा अध्यक्ष न्यौपाले बरु वडा कार्यालय नबने आफूलाई फरक नपर्ने तर समितिमा हेरफेर गर्न नसक्ने बताएका थिए । समितिमा कांग्रेस कार्यकर्ता मात्रै हुनुपर्ने दबाब उनी आवद्ध कांग्रेस पार्टीले दिएपछि उनी वडा कार्यालय नबन्दै फाइदा छ भन्दै हिड्ने गरेको स्थानीयको भनाई छ ।

समयमै वडा कार्यालय भवन निर्माण गर्नुु पर्नेमा समिति निर्माणमै कुुरा नमिलेपछि गाउँपालिका उपाध्यक्ष कमला कायस्थको रोहबरमा भवन बनाउन नयाँ समिति बनेको थियो । वडाध्यक्ष न्यौपानेले बनाएको समितिप्रति अन्यपक्षले असन्तुष्टि जनाएपछि गाउँपालिकामा छलफल भएको थियो । सो छलफलमा डाकिएका वडाअध्यक्षले सहभागि हुने जानकारी दिएपनि बहाना बनाएर नगएको पालिका स्रोतको दावी छ । आफू अनुपस्थित भएको बैठकबाट पालिकाले अर्कै समिति बनाएको भन्दै वडाध्यक्ष न्यौपाने दलबल सहित गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । पालिकामा लगाइएको ताला प्रहरीको रोहबरमा खोलिएको थियो ।

भवन निर्माण गर्न गाउँपालिकामा भएको सहमती अनुसार काम अघि बढाउँदा कांग्रेस कार्यकर्ताले गुण्डागर्दी गरेको अरु दलले प्रतिक्रिया दिएका छन् । निर्माण समितिका अनुसार सुरुमा वडा कार्यालय बनाउने स्थानका विषयमा विवाद रहेको थियो । हाल ओली पक्षिय एमालेमा प्रवेश गरेका फुुल्पिङकोटका पूर्व गाविस अध्यक्ष समेत रहेका डम्बर थापाले किर्ते सहि गरेर संसारीडाँडामा भवन बनाउन काजग तयार गरेपछि प्रहरीबाट अवकासप्राप्त वडा अध्यक्ष छविलाल न्यौपानेले किर्ते आरोपमा थापालाई थुनाउन खोजेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिंगो रहेको अवस्थामा गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले सकारात्मक भूमिका खेलेपछि डम्बर थापा किर्तेकाण्डमा पक्राउ पर्नबाट जोगिएका थिए । त्यसपछि वडामा गरिएको सर्वदलीय बैठकबाट कल्लेरी बेसी, पौडेलगाउँ, बिष्टे, माख्लो कल्लेरी, तल्लो कल्लेरी, भण्डारीगाउँ, झोलंगे र नौविसेलाई समेत पायक पर्ने स्थानका रुपमा लाँकुरी ढुंगा बहरको बोट नजिकै वडा भवन बनाउने सहमती भएको थियो । सोही सहमती अनुसार भवन निर्माणस्थल सम्याउने, जग खन्ने काम अघि बढेको थियो ।

नेकपा माओवादी केन्द्रको बाक्लो उपस्थिति रहेको बलेफी २ मा गत स्थानीय चुनावमा छविलाले कांग्रेसबाट बाजी मारेका थिए । माओवादीबाट पुरुषोत्तम सापकोटा, एमालेबाट बलराम सापकोटा र कांग्रेसबाट छविलाल न्यौपानले चुनाव लडेका थिए । चुनाव जितेपनि जनताको मन जित्न नसकेको आरोप खेपिरहेका न्यौपानेलाई प्रतिक्षिको दरिलो उपस्थितिले भनेजस्तो काम गर्न अप्ठेरो भएको उनले बताउने गरेका छन् ।

कांग्रेस बाहेकका दलहरुले पनि वडा कार्यालय भवन बनाउन आवश्यक भूमिका खेल्न नसकेको स्थानिय बताउँछन् । स्थानीय निर्वाचनका लागि १ बर्ष हाराहारी समय बाँकि रहँदा वडा कार्यालय भवन बनाउनुपर्ने स्थानियको दवावका बीच कांग्रेसको अबरोधले फेरि काम रोकिएको निर्माण समितिले जानकारी दिएको छ ।