२०८१ बैशाख ६

एम्बुलेन्स मर्मत नहुँदा बिरामी मर्कामा

चौतारा । सिन्धुपाल्चोकका १२ स्थानीय तह र स्वास्थ्य एकाइ सबैसँग एम्बुलेन्स रहेका छ्न । तर सबै सञ्चालनमा भने छैनन् ।इन्जिनमा समस्या आएका कारण बिग्रिएर थन्किएका एम्बुलेन्सहरु समयमै मर्मत नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको छ । जिल्लाका आधा दर्जनभन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।

भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको बर्षौं सक्दा पनि मर्मत हुन सकेको छैन । इन्जिन समस्याका कारण थन्किएको एम्बुलेन्स मर्मत गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सकिन्छ । गाउँपालिकाको आगनमा थन्किएर बसेको सो एम्बुलेन्स मर्मत नगरिँदा भोटेकोशीका बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित छन् ।

त्यस्तै बाह्रबिसे र चाकुमा थन्किएर बसेको एम्बुलेन्स मर्मतका लागि नगरपालिकाले ध्यान दिएकै छैन । अस्पतालको गेटमा एम्बुलेन्स थन्किएको छ । बिरामीलाई भने उपचार गराउनका लागि अन्य अस्पताल जान झण्झट हुने गरेको छ । सरकारी एम्बुलेन्स बिग्रिएका कारण बिरामीहरु चर्को मूल्य तिरेर भाडाको गाडी प्रयोग गर्न बाध्य छन् ।

भोटेकोसी र बाह्रबिसेमा मात्र होइन इन्द्रावती,मेलम्ची र हेलम्बु गाउँपालिकाको एम्बुलेन्स पनि मर्मत नहुँदा थन्किएका छन् ।
स्वास्थ्य कार्यालयमा ४० वटा एम्बुलेन्स दर्तामा रहेको तथ्यांक छ । जसमध्ये सातवटा एम्बुलेन्स त कामै नलाग्ने गरि महिनौंदेखि बिग्रिएर थन्किएका अवस्थामा छन् ।जसका मार सर्वसाधारणले खेपिरहेका छन्।

स्वास्थ्य उपचार सरकारको पहिलो प्राथमिकतामा परे पनि उपकरण अवस्था नाजुक छ ।१०३ वटा वडा रहेको सिन्धुपाल्चोकमा एम्बुलेन्स सेवा पर्याप्त छैन । त्यसमा पनि सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्राहीले सधै सास्ती भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्